काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक जग्गा अतिक्रमण बढ्दो मात्रामा रहेको बताएका छन् ।
आयोगले यस्ता विषयमा सूचना प्रविधिमा आधारित रहेर अनुसन्धान गरिरहेका बताएका छन् । मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले अयोगले २८ हजार उजुरीमाथि अनुसन्धान गरिरहेको बताए ।
उनले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार बारेमा अनुसन्धान जारी रहेको बताए । बाहिरबाट सूचना लिनको लागि सरकारले चाँडो बाइलेक्टर सहमति गरिदिनुपर्ने बताए ।
यस्तै उनले टेरामक्स खरिदबारे अनुसन्धान भइरहेको र टेप काण्डको छानबिन गरिरहेको उल्लेख गरे । चमेलिया आयोजनाको टुंगो लगाउन बाँकी रहेको बताउँदै उनले वन उपभोक्ता समिति धेरै भएकोले उनीहरूमाथि अनुसन्धान गर्न कठिनाइ रहेको बताए ।
अख्तियारमा काम गर्न जनशक्तिको कठिनाइ रहेको बताउँदै उनले दुई वर्ष बसेपछि कर्मचारी बस्न नमान्ने अवस्था रहेको बताए ।













