काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् ।
‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा म परिवारका अन्य सदस्यहरु जो आफैं पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने ।
आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको उनले बताए । आचार्यले गीत(संगीतको क्षेत्रमा पुर्याएको योगदान अजर अमर रहने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले गीत(संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरु । त्यसले गीत(संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशानिर्देश गर्नेछ ।’













