सवारी दुर्घटनामा परेर गण्डकीमा ६ महिनामा ८८ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनामा परेर ८८ जनाले ज्यान गुमाएका छन् । गत साउन देखि पुस मसान्तसम्म १९५ वटा सवारी दुर्घटना हुँदा सो संख्यामा मानिसको ज्यान गुमेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जानकारी दिएको हो ।

प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार उक्त दुर्घटनामा २५२ सवारी साधन परेका हुन् । सोही दुर्घटनामा परेर २८९ जना घाइते भए ।

आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा दुघटनामा परेर १६८ जनाको ज्यान गुमेको तथ्यांक छ । उक्त आर्थिक वर्षमा ३७४ वटा दुर्घटना भएको प्रवक्ता दानीले जानकारी दिए । ४६८ वटा सवारी दुर्घटनामा परेका हुन् । सो दुर्घटनामा परेर ६३४ जना घाइते भएका थिए ।

चालकका कारण धेरै दुर्घटना

सवारी दुघटना सबैभन्दा धेरै सवारी चालककै कारण भएको ट्राफिक प्रहरीले बताएको छ । चालककै कारण १६४ सवारी साधन दुर्घटनामा परेका छन् ।

सवारी साधनको कारण १०, यात्रुका कारण १२, सडकको अवस्थाका कारण ९ र मौसमको कारण २ वटा सवारी साधन दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको डाटामा उल्लेख छ ।

 

  • १७ फाल्गुन २०८०, बिहीबार १९:२८ प्रकाशित