पोखरा ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण बनेको सत्ता गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला स्तरीय कार्याकता भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले अध्यक्ष ओलीले झण्डै दुई तिहाईको सरकार रहेकोबेला संसद विघटन गरेको र त्यसलाई सुधार्नुको सट्टा अझै गुणगान गाइरहेकाले संसद र संविधानमाथि जतिबेला पनि आक्रमण हुने अवस्थाका कारण गठबन्धन जारी राख्नुपरेको उनले प्रष्टिकरण दिए ।
उनले कांग्रेससंगको गठबन्धन आफूहरुका लागि भालुमाथिको सबार जस्तो भएको समेत उनले टिप्पणी गरे । ‘कांग्रेससंगको गठबन्धन हाम्रा लागि भालुमाथि सवार भएजस्तो भएको छ । तर, यसको तत्काल विकल्प छैन । संसद विघटन गरेका ओली अहिलेसम्म त्यसको रिअलाइजेसन गरिरहेका छैनन् । बरु त्यसैको बखान गरिरहेका छन् । ओली र उनले नेतृत्व गरिरहेको दल अझैपनि पाए संसद विघटन गर्ने पक्षमा छ । त्यसको रक्षाका लागि र उपलब्धि रक्षाका लागि यो गठबन्धन जोगाइ राख्नु परेको हो’ उनले भने ।
महासचिव पोखरेलले आफ्नो पार्टी संगठनको हिसावले कम्जोर रहेको स्विकार गरे । विचारका हिसावले भने सबैभन्दा अब्बल रहेको उनले बताए । ‘हाम्रो पार्टी होला अहिले संगठनको हिसावले कम्जोर छ । तर यो विचारका हिसावले देशमा सबैभन्दा अब्बल छ । राम्रो बिचार लिएर अगाडि बढेपछि संगठनका हिसावले पनि ठूलो हुन लामो समय लाग्दैन’ उनले भने ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं पोखरा महानगरका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, कास्कीका अध्यक्ष खड्ग हमाल लगायतले बोलेका थिए ।