एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ १ चैतदेखि

केन्द्रभाग मिडिया

पोखरा ।
बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष १ चैत देखि ३ चैतसम्म हुने भएको छ । बाह्रखरीले शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै गल्फ एन्ड बियोन्ड कार्यक्रम गर्ने जानकारी दिएको हो ।

यस कार्यक्रमअन्तर्गत १ चैतमा पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल ¥याली आयोजना गरिनेछ । यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको बाह्रखरीका अध्यक्ष प्रतिक प्रधानले जानकारी दिए ।

उनका अनुसार २ चैतमा काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा आउने ३०० भन्दा बढी ‘कर्पोरेट पाहुना’ लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्ववर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहनेछन् ।

सोही दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् । ३ चैतमा बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसै दिन बिहान ९ बजे प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया अध्यक्ष प्रधानले बताए । उनका अनुसार देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी  दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् । ३ चैतकोे अपराह्न सम्पूर्ण कार्यक्रमको समापन हिमालयन गल्फ कोर्स, मझेरीपाटन, पोखरामा हुनेछ ।

उक्त समारोहमा गल्फ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ भने देशभरबाट आएका पाहुनाहरूलाई आपसी भेटघाट र अन्तरक्रियाका लागि एक उत्सव पनि हुनेछ ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् । बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो ।

 

  • ११ फाल्गुन २०८०, शुक्रबार १९:२३ प्रकाशित