देश लुट्नेलाई छाडिँदैन : गृहमन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

नेपालगन्ज।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश लुट्नेलाई नछाड्ने जिकिर गरेका छन् ।

नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्यहरू गरेको बताए ।

नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको उनले दाबी गरेका छन् ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठुला ठुला कार्य गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रस्ट पारे ।

मन्त्री श्रेष्ठले भने, ‘सरकारले सुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडी झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइनेछ ।’

नेपाली काँग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने जनाउँदै उनले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका संकेतहरु देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरी बजेट ल्याउने छलफल चलिरहेको बताए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु अति आवश्यक भएको जनाउँदै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गरे ।

उनले व्यक्तिगत स्वार्थका लागि गरिने गुटबन्दी पार्टीका लागि सबैभन्दा घातक हुने बताउँदै गुटबन्दीमा नलागी पार्टीको विधि र विधान अनुसार अगाडी बढ्नु आवश्यक रहेको कुरामा विशेष जोड दिए ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १३:४५ प्रकाशित