काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन् । महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
महामन्त्री गगन थापाले चुनाव अगाडि गठबन्धन नगर्ने प्रतिवेदन पेश गरेपछि देउवाले सो प्रतिवेदन फिर्ता लिन दबाब दिए पनि थापाले फिर्ता नलिने अडान लिएका थिए । पार्टीका सैद्धान्तिक मान्यता नीति र कार्यक्रम लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने बताए । कांग्रेसले आफ्नो इतिहासको रक्षा गर्दै भविष्यमा समेत जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।
उनले भने, ‘संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा हुन् । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ । संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ ।’
उनले संविधान कार्यान्वयनमा देखिएको समस्या पहिचान गरेर शासकीय स्वरूपमा प्रतिकूल प्रभाव नहुनेगरी संशोधन गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए ।
कुनै एक पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको जिकिर छ । गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको उल्लेख गरे । भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने उनले बताए ।