तनहुँमा जिप दुर्घटना हुँदा एकको ज्यान गयो, ७ घाइते

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गए राति भएको दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । घाइतेहरुमध्ये ६ जना चितवनका र एक जना गोरखाका छन् ।

डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका ९इच्छाकामना गाउँपालिका–५० का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् । दुर्घटनामा सोही गाउँपालिकाको वडा नं। ६ का रूपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् ।

  • ६ फाल्गुन २०८०, आईतवार ०९:११ प्रकाशित