आईसीसी क्रिकेट विश्वकप लिग–२

नेपाल सामु नेदरल्याण्डको १३८ रनको सामान्य चुनौती

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ३८ रनको सामान्य चुनौती दिएको छ । नेदरल्याण्डले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले समान १ विकेट लिए ।

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

  • ५ फाल्गुन २०८०, शनिबार १२:३३ प्रकाशित