पन्जाब र हरियाणाको शम्भु नाकामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण ज्यान गएको छ ।
बीबीसी हिन्दीमा छापिएको खबरका अनुसार प्रदर्शन स्थलमा गुमाउने किसानको नाम ज्ञान सिंह हो । अस्पतालका अनुसार मृतकलाई हृदयघात भएको थियो । ‘हामीले उपचार सुरु गर्यौँ तर दुर्भाग्यवश बचाउन सकेनौँ,’ पटियालाका राजिंदर अस्पतालका डाक्टरले भनेका छन् ।
किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पञ्जाबसँग आबद्ध थिए । ‘मृत्युको कारण हृदयघात हो, बाँकी पोष्टमार्टमपछि खुल्नेछ,’ पत्रकारसँग कुरा गर्दै पन्धेरले भने ।
‘यसको कारण केन्द्र सरकार हो, यहाँ यति धेरै मानिसहरू छन्, वृद्धवृद्धा छन् । उचित उपचारमा, उठ्न, सुत्न, नुहाई–धुवाई सबै चिजमा समस्या भइरहेको छ । आन्दोलन लामो समयसम्म चल्छ, हामीलाई लाग्छ कि अझै धेरै मानिसहरु शहीद हुनेछन्, सरकारले हाम्रा माग स्वीकार गरेर समस्या समाधान गर्नुपर्छ,’ उनले भने । शुक्रबार शम्भु नाकामा किसानहरुको प्रदर्शनको चौथो दिन हो ।
गए राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबिचको वार्तामा कुनै समाधान हुन सकेन । नाकामा किसान र सुरक्षाकर्मीबिच पटकपटक झडप भइसकेको छ । किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ ।