तनहुँका कमल महतले यस वर्ष सुन्तला बेचेरै कमाए ४० लाख

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।

विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’

उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् ।

उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए ।उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’

  • ४ फाल्गुन २०८०, शुक्रबार १४:४७ प्रकाशित