फोहोर व्यवस्थापनका लागि पोखरा १६ मा हाटबजार लाग्दै

केन्द्रभाग मिडिया

पोखरा । पोखरा महानरपालिका वडा नं. १६ मा सञ्चालित ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोर व्यवस्थापन सम्बन्धि जनचेतना जगाउन हाटबजार आयोजना गर्ने भएको छ । हाटबजार पोखरा १६ घार्मीखोलामा रहेको ग्रीन भ्यालीको तालिम केन्द्रमा यहि फागुन ११ र १२ गते आयोजना हुने सहकारीका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।

विगत केही समयदेखि फोहोर व्यवस्थापन तथा पुनर्नवीनीकरण (रिसाईकल) सम्बन्धी कार्य गरिरहेको ग्रीनभ्याली सहकारीले स्थानीय उत्पादनहरूको प्रवर्द्धनको साथमा रिसाईकल गर्न सकिने फोहोर वस्तुबाट नयाँ सामान बनाउन सीप र तालिमको अवसर प्रदान गर्न हाटबजारको आयोजना गर्न लागेको हो ।

हाटबजारमा सहभागीता जनाउन आयोजकले आमा समुह, विद्यालय तथा आफ्ना सेयर सदस्यहरुलाई आव्हान समेत गरेको छ । सहभागीहरुले पुराना र खेर गएका सामानहरुबाट निर्माण गरेका नयाँ सामानहरुसमेत प्रदर्शन गर्न सक्ने जनाएको छ ।

सहकारीले उक्त हाट बजार कार्यक्रममा पुरानो र प्रयोगमा नआएका सामान सँग नयाँ सामान खरिद गर्ने सुविधाका साथै घरायसी तथा कृषि औजारहरु तथा विविध रिसाइकल प्रडक्टको प्रदर्शनी गरि हाट बजार सन्चालन गर्ने जनाएको छ।

हाटबजारमा पुरानो सामानहरु जस्तै पुरानो कपडा, पुरानो कापी, किताब, कागज तथा पुरानो टिन, फलाम तामा पित्तल, बिग्रिएको व्याट्री, मेशिन, प्लास्टिक झोला, भाँडासँग नयाँ सामाग्रीहरू साट्न सकिने जनाएको छ ।

उक्त हाट बजारमा फोहोर व्यवस्थापनका विविध उपाय, फोहोर वर्गीकरण, पुनः प्रयोग, पुनःप्रशोधित सामग्रीहरुको प्रदर्शनी समेत हुने आयोजकले जनाएको छ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १३:५० प्रकाशित