काठमाडौँ ।
एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।
योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आएका दुई टोली सहभागी हुनेछन् ।
नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् ।
त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले पनि दुई चौका नै प्रहार गरिन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन् ।