काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ पोछा लगाएको भिडियो सामाजिक सञ्जालमा अपलोड भएको छ ।
पत्रकार बालकृष्ण शर्माले आफ्नो फेसबुकमा मन्त्री किरातीले पोछा लगाउँदै गरेको भिडियो अपलोड गरेपछि भिडियोमा विभिन्न प्रतिक्रिया आएका छन् । उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख मन्त्री आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् ।
बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिकै रहेकी कर्मचारी समान सार्नमा व्यस्त देखिन्छन । उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन् ।

कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।
मन्त्री किरातीको भिडियोमा कतिपयले सकारात्मक प्रतिक्रिया दिएका छन् भने अधिकांशले मन्त्री नाटक भन्दै नकरात्मक टिप्पणी गरेका छन् । मन्त्री पोछा लगाएको भिडियोमा सुलोचना गौतम नामक फेसबुक युजरले रुम हैन देशका भ्रष्टाचारीलाई पोछा लगाउनु भन्दै टिप्पणी गरेकी छिन् । अधिकांशले मन्त्रीको नौटंकी भन्दै व्यंग्य समेत गरेका छन् ।
बालकृष्ण शर्माको फेसबुकबाट साभार













