गण्डकी प्रदेश स्थापना दिवस

सुशासनलाई स्थापित गर्न प्रदेश सरकार प्रयत्नशील छ : मुख्यमन्त्री पाण्डे

प्रदेशभर सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

पोखरा ।

आज गण्डकी प्रदेशको सातौँ स्थापना दिवस ।विशेष समारोहको आयोजना गरि मनाईदैँ छ । स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छैँटौ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण गण्डकी प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात प्रथमपटक प्रदेश सरकारको गठन भएको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष फाल्गुन ४ गतेलाई प्रदेश सरकारको स्थापना दिवसको रूपमा मनाउँदै आएका पाण्डेले बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले नेपालमा संघीय लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना तथा जनजीविका प्राप्तिको लागि भएका सबै आन्दोलन तथा संघर्षको क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदप्रति श्रद्वाञ्जली अर्पण गर्नुका साथै यस क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका सबै प्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुन बमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात गरी नागरिकसामु लोकतन्त्रका लाभाशंहरुको समन्यायिक वितरण गरी सुशासनलाई स्थापित गर्न प्रयत्नशील रहेको पाण्डेले जिकिर गरेका छन् । प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको दाबी पाण्डेको छ ।

गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले “आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी” सोच अगाडि बढाएको उनले उल्लेख गरेका छन् । नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको उनको भनाई छ ।

सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले संबोधन गरिरहेको उनको दाबी छ ।

शासकीय प्रणालीमा निरन्तर आएको परिवर्तन, प्रविधिको विकास र विश्वव्यापीकरणका कारण विश्वतहमा गर्नुपर्ने अन्तरक्रियाले स्वरुप, संरचना र शैलीमा निरन्तर परिवर्तन र सुधारको दिशा निर्दिष्ट गरेको महसुस गरेको उनले उल्लेख गरेका छन् ।

  • ४ फाल्गुन २०८०, शुक्रबार ०९:१६ प्रकाशित