पोखराका १६ सहकारी समस्याग्रस्त

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगर अन्तरर्गत रहेका १६ सहकारी संस्थामा रहेको बचतकर्ताको बचत जोखिममा पर्ने देखिएको छ । १६ वटा सहकारी संस्था समस्याग्रस्त पहिचान गरिएकोे पोखरा महानगरपालिनका सहकारी समितिले जनाएको छ ।

समितिका अनुसार अनुसार ती सहकारीका सञ्चालकलाई सचेत गराइएको छ । बचतकर्ताको बचत जोखिममा नपरोस भनेर आन्तरिक रुपमा नै मिलाउने भनिएको सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले जानकारी दिए । ‘पोखरा महानगर अन्तर्गत रहेका १६ सहकारी संस्था जोखिममा देखिएका छन् । समस्यामा रहेको भन्ने उजुरी सहकारी शाखामा  परेपछि नै हामीले सचेत गराएका छौं ।’ उनले भने, ‘समय दिएर सुधारका लागि भनेका हौं ।’

अध्यक्ष तिवारीले केही सहकारीले प्रयास गरेको समेत जानकारी दिए । ‘साधारणसभा बोलाउने देखिका समस्या समाधान गर्छौं । समय दिनुहोस् भन्नुभएको छ, हेरौं’ उनले भने । पोखराका अधिकांस सहकारीमा समस्या नरहेको र बचतकर्ताहरु आत्तिनुपर्ने अबस्था भने नरहेको उनले दाबी गरे । उनले भने, ‘अधिकासं सहकारीमा समस्या छैन । बचतकर्ता र सहकारी अभियान्ता अत्तिनुपर्ने अवस्था छैन । ‘समस्याग्रस्त सहकारीहरुले पनि मिलाउने प्रयास गरिरहेका छन् ।’

सहकारी शाखाका प्रमुख अनिल कार्कीले समस्या साधानका लागि ताकेता गरिएको जानकारी दिए । सहकारी शाखाका तर्फबाट समस्यामा देखिएका सहकारीले समस्या समाधान ननिकाले प्रहरीकोमा पठाउनु पर्ने अवस्था आउने तर्फ सचेत रहन आग्रह गरिएको उनले बताए ।

आफू सहकारी शाखामा आएको केही दिनमात्र भएकाले विस्तृत अध्ययन गर्न बाँकी रहेको समेत उनले सुनाए । ‘रिपोर्टहरु हेरेको छु । समस्यामा रहेका सहकारी कसरी अगाडि बढेका छन् भनेर अध्ययन गर्दैछु’ उनले भने ।

यी हुन् पोखराका समस्याग्रस्त  सहकारी

महानगरपालिका सहकारी शाखाका अनुसार समस्याग्रस्त सहकारीमा पोखरा–१ को चौतारी वचत तथा ऋण सहकारी, पोखरा–२ को अम्बाउज्जवल बहुउद्देश्यीय सहकारी, पोखरा–४ मा रहेको सूर्यदर्शन वचत तथा ऋण सहकारी, पोखरा–११ मा रहेको डल्फीन वचत तथा ऋण सहकारी, पोखरा–८ मा रहेकोे बलिदानी वचत तथा ऋण सहकारी, पोखरा–८ मा रहेको स्मार्ट उत्पादन सहकारी संस्था, पोखरा–८ मा रहेको नयनतारा कृषि सहकारी संस्था, पोखरा–८ मा रहेकोे त्रिवेणी वचत तथा ऋण सहकारी, पोखरा–७ मा रहेकोे साथी किसान कृषि सहकारी, पोखरा–५ मा रहेको राहत कृषि सहकारी, पोखरा–३० मा रहेकोे जगत कल्याण दुग्ध उत्पादक सहकारी, पोखरा–९ मा रहेको मेगा वचत तथा ऋण सहकारी संस्था, पोखरा–९ मा रहेकोे अरनिको वचत तथा ऋण सहकारी, पोखरा–९ मा रहेको इमेज वचत तथा ऋण सहकारी संस्था पोखरा–९ मा रहेको सामिप्य वचत तथा ऋण सहकारी र पोखरा–१० मा रहेको महेश उपभोक्ता सहकारी संस्था रहेका छन् ।

किन देखियो समस्या ?

सहकारी अभियान्ताहरुका अनुसार केही आफूलाई हाइफाइ देखाउने ठूला भनिएका र बाहिरका मानिस आएर सञ्चालन गरेका सहकारीका कारण समस्या भएको हो ।  हैसियत भन्दा ठूलो लगानी गर्ने सहकारीहरु समस्यामा परेको पोखरा सहकारी संघका अध्यक्ष लीलाधर बराल बताउँछन् । ‘केही पोखराभन्दा बाहिरबाट आएर ठूला सहकारी भन्दै सञ्चालन गरेकाहरुले विगारे । जसको असर साना सहकारीमा परेको छ ।

बचतकर्ताहरु आत्तिएर एकैपटक बचत फिर्ता लिन आउँदापनि समस्या भएको हो । एकैपटक सबै डिपोजिटरले पैसा फिर्ता माग्ने हो भने बैंकपनि समस्यामा पर्छन् । सहकारीको के कुरा गर्नु’ उनले भने ।

बरालको भनाईमा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीपनि सहमत छन् । उनले पवित्र रहेको सहकारी अभियानलाई नै केही व्यक्तिका कारण धक्का लागेको बताए ।

हैसियत भन्दा ठूलो लगानी, आर्थिक संकटका कारण कर्जा नउठ्नु र केही सहकारीका सञ्चालकको साँच्चैको लापरबाही, अनि केही हल्लाले पनि समस्या पारेको उनले विश्लेषण सुनाए । ‘केही बाहिरबाट आएका असम्बन्धित व्यक्तिहरुको समूहलेगर्दा सहकारी नै बदनाम हुने अवस्था आयो । यस्तो बेला हामीले सबै सहकारी समस्यामा छैनन् र समस्यामा रहेका सहकारीलाई पनि मिलाउन प्रयास गरिरहेको सन्देश दिनुपर्ने हुन्छ,’ उनले भने ।

‘धेरै सहकारी राम्रा छन्, थोरैले बद्नामी कमाएका हुन्’

पेखरा महानगर अन्तर्गत ३६४ वटा सहकारी छन् । जसमा बचत तथा ऋणको कारोबार गर्ने गर्ने सहकारीको संख्या १८५ छ । कृषि सहकारी संस्था ७९, बहुउद्देश्यीय सहकारी संस्था ४९, उपभोक्ता सहकारी संस्था १२, दुग्ध सहकारी संस्था १३, कफि सहकारी संस्था ७, अन्य सहकारी संस्था १९ को संख्यामा छन् । त्यसमध्ये १६ सहकारी समस्याग्रस्त देखिएको र समस्याबाट बाहिर ल्याउने विषयमा विभिन्नढंगले सोचिएको पोखरा सहकारी संघका अध्यक्ष लीलाधर बराल बताउँछन् ।

नेफ्स्कुन र सहकारी बैंक मार्फत सहकारीलाई ऋण उपलब्ध गराएर भएपनि  सञ्चालक इमान्दार रहेकालाई माथि उकास्न आफूहरुले छलफल चलाएका उनले बताए । सहकारी र सहकारी अभियानमा लागेकाहरुका लागि अहिले एउटा ऐतिहासिक चुनौती खडा भएको तर्क गरेका उनले इमान्दारहरुलाई सघाउने र नियतबस डुबाउनेलाई कारबाहीको दायरामा ल्याउनुको विकल्प नरहेको सुनाए ।

श्रोत : पोखरा महानगरपालिका सहकारी शाखा

 

  • ३ फाल्गुन २०८०, बिहीबार १८:३६ प्रकाशित