रमेश पौडेल,
पोखरा ।
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की स्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ ।
कार्यक्रमको बुधबार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरेका थिए ।पौडेलले बिगत ६ महिनाको प्रगती समिक्षामा सन्तोषजनक उपलब्धि हासिल हुन नसक्दा विकास प्रभावित बनेको भन्दै वाँकी अवधिमा निर्धारित लक्ष्य प्राप्त हुने गरि कार्य सम्पादनमा जुट्न आग्रह गरे।
उनले कतिपय वहुबर्षीय र राष्ट्रिय गौरवका आयोजनामा निर्माण कम्पनीको लापरबाही ,आयोजनामा हुने बजेट रकमान्तरण र बजेट कटौतिका कारण रकम अभाव मुख्य समस्या समिक्षा मार्फत पहिचान भएको उल्लेख गरे ।
आयोजनामा बिनियोजित बजेट पनि अपेक्षाकृत खर्च भएको देखिएन , कार्यालयहरूको वित्तिय र भौतिक प्रगति सन्तोष जनक देखिएन पौडेलको भनाइ थियो।

पालिकामा बेरुजु मुख्य समस्या देखिनु चिन्ताजनक भएको भन्दै प्रचारमुखी काम भन्दा जनहितकारी काममा स्थानीय तह केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू राजु अधिकारी ,गणेश बहादुर जिसि ,सितादेवी विश्वकर्मा सुकमाया नेपाली , हर्क बहादुर गुरुङ सहितले मन्तव्य व्यक्त गरेका थिए ।
बिहीवार पोखरा महानगरपालिका , अन्नपूर्ण गाउँपालिका,मादी गाउँपालिका ,माछापुच्छ्रे गाउँपालिका , सहित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय , सडक डिभिजन कार्यालय पोखरा, रुपाताल संरक्षण एकीकृत बिकास परियोजना, वन कार्यालय ,स्वास्थ कार्यालयले समिक्षा प्रस्तुत गरेका थिए भने रूपा गाउँपालिका,नेपाल विद्युत प्राधिकरण ,नेपाल खानेपानी संस्थान अर्धवार्षिक समिक्षा कार्यक्रममा अनुपस्थित भएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
त्यसैगरी बुधबार संघीय आयोजना कार्यान्वयन इकाइ , नेपाल टेलिकम ,पूर्वाधार विकास कार्यालय ,जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ,स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ,मध्य पाहाडी लोकमार्ग आयोजना ,मुग्लिङ पोखरा सडक आयोजना पश्चिम खण्डले समिक्षा प्रस्तुत गरेका थिए।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो।













