पोखरा ।
प्रणय दिवसको छेको पारी पर्यटकीय गाउँ घार्मीमा लभ वाईट रेष्ट्रो एण्ड कटेज संचालनमा आएको छ ।
दुई दशक खाडीका विभिन्न मुलुकमा रोजगारीका लागी विताएका स्थानिय युवा हिमलाल पौडेलले पोखरा १९ घार्मी डाँडामा उक्त रेष्ट्रो संचालनमा ल्याएका हुन ।
विदेशमा सिकेको सीप आफ्नै गाउँमा लगाउने हेतुले व्यवसाय शुरु गरेको संचालक पौडेलले वताए । ‘जिवनको महत्वपुर्ण समय साउदी, कतार र ओमानमा विताए’, पौडेलले भने—’अव त्यहाँ सिकेको सिप यही लगाउँछु, विदेशमा निकै दुख गरियो, अब यही गर्ने हो ।’
आफ्नै एकल लगानीमा संचालन गरेको रेष्ट्रोमा यही उत्पादन भएका अर्गानिक खानाका साथै स्थानिय उत्पादनलाई नै प्रर्वद्घन गर्ने तयारी उनले गरेका छन । आफ्नै बारीमा उत्पादन भएको तरकारी, गाई, भैंसीको दुध, दही, घिउ र यहीको चामल, मकै, कादोवाट बनेका परिकार नै यहाँको विशेषता हुने पौडेलले वताए ।

उत्तरमा माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृंखला सहित पोखराको मनोरम दृश्य हेरेर आफ्नै रोजाईको परिकार खान सकिने उनको दावी छ ।उक्त कटेज संचालनका लागी करिव दश लाख खर्च भैसकेको र कटेजसँगै जोडिएको आफ्नै निजी जग्गामा अव चिल्ड्रेन पार्क बनाउने लक्ष्य समेत रहेको उनले वताए ।शहरवाट केही टाढा प्राकृतिक दृश्यावलोकन गरी रमाउन चाहानेका लागी बास बस्ने सुविधा समेत रहेको वताईएको छ ।
संचालनको अवसरमा ग्राहकलाई यहीका उत्पादनवाट बनेका परिकारमा छुटको व्यवस्था रहेको तथा पिकनिक आउने समुहलाई पनि केही छुट गरिएको उनले जानकारी दिए । पछिल्लो समय घार्मी पिकनिक स्पोटका लागी महत्वपुर्ण स्थल वनेको छ ।













