काठमाडौँ ।
नेपालमा ‘भ्यालेन्टाइन डे’ का लागि तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले बताएको छ । यति धेरै मात्रामा गुलाफको माग भएपनि १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताएका छन् ।
माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ ।यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० रुपैयाँदेखि एक सयसम्म पर्ने उनले जानकारी दिए । अध्यक्ष तामाङका कुल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने जानकारी दिए ।
विशेष गरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ ।पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ ।
आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ ।
प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न गिफ्ट पसलहरूमा युवायुवतीहरूको भीड देखिन्छ । युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।
‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको छ ।