स्थापना दिवसको अवसरमा रुपा गाउँपालिकाद्वारा अध्यक्ष कप खुल्ला पुरूष भलिबल प्रतियोगिता

फागुन १० देखि टिम दर्ता सुरु, विजेतालाई १ लाख ५० हजार नगद

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको रुपा गाउँपालिकाकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँपालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखी गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

प्रतियोगिता फागुन २४ गतेदेखि २७ गते सम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पत्रकार सम्मेलनमा जानकारी दिए । स्थापना दिवसको अवसरमा रूपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष ओझाले जनाए ।

युवाहरूलाई खेलकुदको माध्ययमबाट शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्वेश्यले ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल उदघोषका साथ रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कपको आयोजना गर्दै आएको अध्यक्ष ओझाले बताए ।भलिबल, झाँकी र माला प्रतियोगिताका विजेतालाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा भाग लिन चाहने टिमले यही फागुन १० गतेदेखि २३ गते दिउँसो १२ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने उपाध्यक्ष लालसुब्बा गुरुङले बताए । भलिबल प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई ८० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाई ४० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमलाई २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तै उत्कृष्ट खेल प्रदर्शन तर्फ बेस्ट प्लेयरलाई ५ हजार नगद, ट्रफि र प्रमाणपत्र, बेस्ट सर्भरले २ हजार, ट्रफि र प्रमाणपत्र, बेस्ट ब्लकरले २ हजार नगद ट्रफि र प्रमाणपत्र, बेस्ट सेटरले २ हजार नगद, ट्रफि र प्रमाणपत्र, बेस्ट लिब्रोले २ हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।त्यस्तै बेस्ट स्पाइकरलाई २ नगद, ट्रफि र प्रमाणपत्र, उत्कृष्ट प्रशिक्षकलाई २ हजार नगद ,ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यस्तो छ खेलको नियम

खेल अन्तराष्ट्रिय एफ आइ भि बी भलिवल खेलको नियमानुसार खेलाईने जनाइएको छ ।

खेलाडी संख्या १२ जना, १ जना टिम प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरि १४ जना हुनुपर्नेछ । ४० खेलाडीको नम्बर अंकित गरिएको पोशाक अनिवार्य हुनुपर्नेछ ।

खेलमा हाल कायम भएको नयाँ वडाका खेलाडीहरु समावेश हुन पाउनेछन् ।

सम्बन्धित वडा भन्दा बाहिरका खेलाडीहरु समावेश गर्न पाईनेछैन ।सम्बन्धित वडाका खेलाडी बाहेक बाहिरका खेलाडी समावेश भएमा सोको उजुरी दिनु परेमा खेल सकिएको ३० मिनेट भित्र ५ हजार शुल्कसहित निवेदन पेश गर्नुपर्नेछ । उजुरी सदर भएमा ५० प्रतिशत रकम फिर्ता हुनेछ ।

सहभागी खेलाडीहरुले सम्बन्धित वडाबाट अनिवार्य रुपमा फोटो टाँस गरि उपलब्ध गराईएको फारम प्रमाणित गराई बुझाउनु पर्नेछ । साथै खेलाडीहरुले सम्बन्धित वडाको नागरिकता, जन्मदर्ता र बसाईसराई समेत उपलब्ध गराउनु पर्नेछ ।

खेलमा कुनै विवाद आएमा खेलकुद समिति र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।खेल तालिका फागुन २३ गते दिउँसो २ बजे गोलाप्रथाको माध्ययमद्धारा सार्वजनिक गरिने आयोजकले बताएको छ ।

यस्तै झाँकी प्रदर्शन प्रतियोगिताका लागि कम्तिमा ४० समुहको सहभागिता रहने र झाँकी प्रदर्शन प्रतियोगितामा समाबेश हुन आउने प्रत्येक समुहले बढीमा ५ वटा माला समाबेश गर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

झाँकी प्रदर्शन प्रतियोगिता तर्फ प्रथम हुनेले ३० हजार नगद र प्रमाणपत्र , द्वितिय हुनेले २० हजार नगद र प्रमाणपत्र, तृतीय हुनेले १० हजार नगद र प्रमाणपत्र, सान्त्वना हुनेले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।

झाँकी प्रतियोगिताको नियम यस्तो छ

झाँकी प्रदर्शन प्रतियोगितामा भाग लिन आउने समूहहरूबाट एउटा समूहले बढिमा १० वटा माला प्रतियोगितामा समाबेश गर्नुपर्नेछ ।

प्रतियोगितामा समाबेश हुने मालामा स्थानीय सामग्रीहरूको प्रयोग गर्नुपर्नेछ जसमा बाह्य बस्तुहरू जस्तै जरि, फूल लगायतका अन्य कुनै पनि बस्तुहरू प्रयोग गर्न पाइने छैन ।

प्रत्येक झाँकी समुहमा कम्तिमा ३५ जना सदस्यहरू हुनुपर्नेछ । सदस्य संख्या पुरा भई समावेश भएमा सबै समुहलाई ५ हजार यातायात बापत, र २ हजार खाना खाजा खर्च एकमुष्ट रूपमा उपलब्ध गराइने छ ।

प्रत्येक समुहमा ३५ जना मध्येमा कम्तीमा ५ जना ३० वर्ष भन्दा कम उमेरको हुनुपर्नेछ ।

माला प्रतियोगिता तर्फ प्रथम हुनेले ६ हजार र प्रमाणपत्र, द्वितीय हुनेले ४ हजार र प्रमाणपत्र,तृतीय हुनेले २ हजार नगदर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा जैविक विविधता सम्बन्धी कृषि प्रदर्शनी समेत हुने बताइयो ।कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहेन बताइएको छ ।

युवा तथा खेलकुदको विकासको लागि पनि एक वडा एक खेल मैदान निर्माण कार्य सञ्चालनमा रहेको छ । गाउँपालिका स्तरीय खेल मैदान निर्माण कार्य पनि प्रदेश र केन्द्रिय सरकारसंग समन्वय गरि निर्माणको चरणमा रहेको छ ।

स्थापना दिवसमा गरिने कार्यक्रमले पालिकाको खेलकुद र सांस्कृतिक विकासमा सहयोग पुगेको पालिका अध्यक्ष नवराज ओझाले बताए । अध्यक्ष ओझाले पालिकाले सबै क्षेत्र मार्फत विकास र समृद्धिलाई अगाडि बढाएको दाबी गरे ।

४ दिनसम्म चल्ने कार्यक्रमलाई भव्य बनाउन आयोजक गाउँपालिककाले विभिन्न समिति तथा उपसमितिहरू बनाएको छ ।

  • १ फाल्गुन २०८०, मंगलवार १०:३८ प्रकाशित