पोखरा । लमजुङ कृषि क्याम्पसको होस्टेलमा भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश समितिले प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
होस्टेलमा पढिरहेका विद्यार्थीहरुलाई कुटपिट गर्ने, रड प्रहार गरि होस्टेलको भवनबाट खसाल्ने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियु गण्डकीले गण्डकी प्रदेश प्रमुख डिआईजी बिकासराज खनाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
माघ २७ गते शनिबार (हिजो) उक्त कृषि क्याम्पसमा एमाले र काँग्रेसका भातृ संगठनका सम्वद्ध विद्यार्थीबीच झडप हुँदा १५ जना विद्यार्थीहरु घाइते भएका थिए ।
‘लमजुङ कृषि क्याम्पसको होस्टेलमा पढिरहेका विद्यार्थीहरु माथी मिति २०८० माघ २७ गते हतियार सहित नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीहरुबाट होस्टेलमा बसिरहेका अनेरास्ववियुका विद्यार्थीहरु विवस विक, टिकाराम ढकाल, विराज सुवेदी, भवन रिजाल बुन बस्याल, सुशीन पौडेल, सुरेशराज अवस्थी, दिपेश रोकाया बेदनाव घिमिरे, अर्जुन दुकान सागर अधिकारी, नारायण भुषाल, आशिष रानाभाट, सौगात ढकाल, विनोद पार, गौरव जोगी, भूषण अवस्थी, शर भण्डारी अर्पण महत्रा खगेन्द्र जोशी, सुजत अवान, सुरज घिमिरे माथि खुकरी रड प्रहार गरी बवर आक्रमण गरी विद्यार्थीहरुलाई गम्भीर घाइते बनाईएको घटना प्रती अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ – ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
होस्टेलमा बसिरहेका विद्यार्थीहरुलाई ढोका थुनेर रड प्रहार गर्ने, कुटपिट गरी होस्टेलको भवनबाट खसाल्ने जस्ता कार्य कुनै पनि हिसाबमा सह्य हुन नसक्ने पत्रमार्फत अनेरास्ववियु गण्डकीले जनाएको छ ।
‘देशका विभिन्न भू–भागबाट उच्च शिक्षा हासिल गर्नका लागि क्याम्पसमा आएका विद्यार्थीहरुलाई राजनीतिक विचारका आधारमा ज्यान मार्ने उद्देश्य सहित गरिएको आक्रमणले स्वतन्त्रपूर्वक बाँच्न पाउने नागरिकको मौलिक हक माथी समेत प्रहार गरेको हाम्रो बुझाई छ । यो बर्बरतापूर्वक आक्रमण मानवता विरोधी गम्भीर अपराध हो। घटनामा संलग्न रहेका विद्यार्थीहरु यसअधि पनि पटक–पटक यस्ता गतिविधीमा संलग्न रहेको पाईएको छ। घटनाका आरोपितहरु आशिय पौडेल, सौरभ उप्रेती, गोविन्द चौधरी सुरज नह, सदिस सिम्खडा, आर्यन भट्ट, एवं साउद, गोकुल भट्ट, सुनिल बस्नेत विवेक सिंह प्रसन्न चापागाई, तर्कराज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र विष्ट, सन्देश सुवेदी, सन्जित गौतम, सरोज भुषाल अनुपराज बुढाथोकी, आदित्य बुढाथोकी लगायत सलग्न अपराधीहरुलाई तत्काल पकाउ गरी हदै सम्मको कानुनी कारबाहीको निम्ति जोडदार माग गर्दर्छौ।’ –पत्रमा लेखिएको छ ।
साथै शैक्षिक क्षेत्रमा भएको अपराधलाई नजरअन्दाज गरेको खण्डमा जुनसुकै कदम चाल्न बाध्य हुने समेत पत्रमार्फत अनेरास्ववियु गण्डकीले चेतावनी दिएको छ ।














