काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धि हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताएका छन् ।
भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने राष्ट्रपति पौडेलले बताए। उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए ।
‘आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरूप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठुलो भ्रष्टाचारमा मुछिएकाहरू भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे ।