पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले एक वर्षको अवधिमा आफूले प्राप्त गरेर सामाजिक कार्यमा खर्चिएको विवरण सार्वजनिक गरेका छन् । शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर उनले विवरण सार्वजनिक गरेका हुन् ।
गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रि थापाले २५ पुस २०७९ देखि हालसम्म प्राप्त गरेको तलब भत्तामा थप गरी विकाश निर्माण र सामाजिक कार्यमा गरेको खर्च विवरण सार्वजनिक गरे । उनले विभिन्न शिर्षकमा ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको जानकारी दिए ।
उनले प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि अहिलेसम्म वैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधासहित बैंक खातामा ८ लाख ९६ हजार १ सय ६० रुपैयाँजम्मा भएको जानकारी दिए । त्यसमध्ये २ लाख १६ हजार ४ सय ४५ रुपैयाँ थप गरी खर्च गरिएको सांसद थापाले विवरण पेश गरे ।
राजनीति आफ्नालागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको उनले बताए । कास्की क्षेत्र नम्बर २ ‘२’ बाट दोस्रो कार्यकालको लागि गण्डकी प्रदेशसभा प्रतिनिधित्व गरेका थापाले सांसदको रुपमा अघिल्लो कार्यकाल केही सिक्ने, कानूननिर्माण गर्ने, थिति बसाल्ने र जनताकाचाहना अनुसारका विकास निर्माणमा सहजीकरण गर्दैमा बितेको बताए । उनले अघिल्लो कार्यकालमा समेत प्राप्त वैठक भत्ता, मासिक पारिश्रमिक र अन्य सुविधा विकाश निर्माण र सामाजिक कार्यमा खर्च गरेका थिए ।
‘निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुल उद्देश्य हुनुपर्छ र राज्य कोषको दोहन वा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ,’ उनले भने ।