सहकारी ठगी

मित्रमिलन सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ, २५ जना अझै फरार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् ।

भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाइने वि.क ले बताए ।

भण्डारी पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापक समेत हुन् । उनी पनि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

यद्यपि, भण्डारीले भने आफूलाई उक्त विषय जानकारी नै नभएको, पदाधिकारीले नै मिलेमतोमा आफ्नो कागजात र नाम कीर्ते गरेको दाबी गर्दै आएका छन् ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्वरजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेका बेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।

स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । त्यसअघि नै पोखरा २५ का राजु बराल पक्राउ परेका थिए ।

मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं। २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये हालसम्म २५ जना फरार सूचीमै छन् ।पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।

  • २३ माघ २०८०, मंगलवार ०९:१३ प्रकाशित