संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् । संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ ।

त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ । यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ ।

त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताए ।

यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए । त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ ।

  • २२ माघ २०८०, सोमबार १०:३२ प्रकाशित