समाजिक सुरक्षा कोषमा रोजगारदाता र मजदुर दुबैलाई फाइदा : प्रमुख आचार्य

केन्द्रभाग मिडिया

पाेखरा ।

पाेखरा महानगरका प्रमुख धनराज आचार्यले सामाजिक सुरक्षा कोषमा आवद्धता श्रमिक र राेजगारदाता दुवैकालागि  अत्यावश्यक रहेकाे बताएका छन् । एकीकृत ट्रेड युनियन महासंघ गण्डकीकाे आयाेजित सामाजिक सुरक्षा सम्बन्धि श्रमिक तथा सराेकारवालाका लागि प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले पाेखरा महानगर सामाजिक सुरक्षाकाेष लागू गर्न प्रतिवद्ध रहेकाे भन्दै  महानगर भित्रका सबै आ‌ैधाेगिक प्रतिष्ठानहरूलाई काेषमा आवद्ध हुन आवहान गरे । उनले भने, “सामाजिक सुरक्षा काेष मजदुर र राेजगारदाता दुवैलाई अनिवार्य छ । यसले सबैकाे सुरक्षाकाे ज्ञारेन्टी गर्छ । त्यसैले यसमा जानू अनिवार्य छ ।”

कार्यक्रममा बाेल्दै एकीकृत समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षाकाेषमा सहभागिता मजदुरकाे अधिकारकाे विषय रहेकाे बताए । उनले यस्ता कार्यक्रमले जागरूकता ल्याउने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण नेपाली, कास्की जिल्ला कमिटीका उपाध्यक्ष पूर्ण लामा, विद्यार्थी नेता सन्तोष न्यौपाने, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संगठनका अध्यक्ष विष्णु लम्साल, उप महासचिव सुर्य कुंवर र  सामाजिक सुरक्षा कोष पोखराका प्रमुख रमेश ढुङ्गेलले सामाजिक सुरक्षा कोषको बारेमा प्रशिक्षण दिएका थिए ।

एकीकृत समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष तिल वहादुर बिक (तिलक) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हरिराम धितालले गरेका थिए । कार्यक्रममा १५० जना विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक तथा अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

सो अवसरमा नेकपा एमाले निकट नेपाल स्वतन्त्र होटल युनियनका उपाध्यक्ष तथा होटल पोखरा ग्राण्डका संयोजक मनमोहन गायक सहित १५ जना एकीकृत समाजवादी ट्रेड युनियन महासंघमा प्रवेश गरेको अध्यक्ष बिकले जानकारी दिए । कार्यक्रमकै अवसरमा मुक्तिलाल गुरुङको अध्यक्षतामा वन तथा निर्माण समिति कास्की गठन गरिएको समेत विकले बताएका छन् ।

 

  • २० माघ २०८०, शनिबार १४:४४ प्रकाशित