माओवादीसँग एकता महाधिवेशनमा जानेबारे नेसपामा विवाद

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।

माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराई पक्ष अनिच्छुक देखिएपछि पार्टी एकता सम्बन्धमा छलफल गर्न मङ्सिरको पहिलो साता नेसपाको केन्द्रीय समिति बैठक बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष महिन्द्र राय यादवको चर्को दबाबपछि भट्टराई एकता समायोजन समिति गठन गर्न तयार भएका थिए । अन्ततः माओवादीसँग एकता गर्न भट्टराईकै नेतृत्वमा समायोजन समिति बनेको थियो । जसमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेका छन् ।

तर पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् । भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेका छन् । एकता महाधिवेशनमा जान नमाने बहुमतले निर्णय गर्ने एक नेताले बताए ।

‘बाबुरामजी एकता महाधिवेशनमा जान चाइरहनु भएको छैन । नेता तथा कार्यकर्ताहरू पार्टीबाट पलायन भइसके । उहाँ पार्टीको महाधिवेशन गर्ने अडानमा हुनुहुन्न’, ती नेताले भने, ‘आजको केन्द्रीय कार्यकारिणी बैठकमा क्लियर हुन्छ । जे हुन्छ त्यो हुन्छ । बाबुरामजी मान्नुभएन भने हामी छुट्टै बैठक बसेर जान्छौँ । सधैँ ल्याङल्याङ पाराले चल्दैन ।’

माओवादीसँग तत्काल पार्टी एकता गरेर जाने पक्षमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरू रहेका छन् । गत वर्ष निर्वाचनअघि दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो । तर बाबुरामलाई थाहै नदिई माओवादीसहित चार दलीय समाजवादी मोर्चा गठन गरेपछि उनी असन्तुष्ट रहँदै आएका छन् । असोजको अन्तिम साता नेसपाका अध्यक्ष महिन्द्रलाई माओवादीले गरेको पत्राचारबाट भट्टराई प्रचण्डसँग थप सशङ्कित देखिएका छन् । यसै विषयको हल खोज्न नेसपाले शुक्रबार केन्द्रीय कार्यकारिणी बैठक र शनिबार केन्द्रीय समिति बैठक बोलाएको हो ।

  • १९ माघ २०८०, शुक्रबार १४:२२ प्रकाशित