रुपन्देही ।
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अबको प्रधानमन्त्री सत्तारुढ गठबन्धन दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बन्ने बताएका छन् । उनले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै यस्तो बताएका हुन् ।
बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा गरेको कार्यक्रममा नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरस कार्यान्वनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए । उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने सहमति भएको सुनाए ।
पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै २०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए ।
निधिले अरु बेला नेताको भाषण सुन्ने जनतासँग अहिले कांग्रेसले गुनासाहरु सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको र नेताहरु गाउँगाउँमा पुगेको बताए ।













