पोखरा ।
पोखरामा जारी २३औं आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । जसअन्तर्गत पहिलो दिन आज थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दैछन् ।
दिउँसो साढे २ बजेबाट सुरु हुने खेलको विजेता फाइनलमा पुग्नेछ । र, माघ २० गते उपाधिका लागि भिड्नेछ ।
आहा रारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि २०६८ सालको क्वार्टरफाइनलमा दुवै टिम पहिलोपटक भेट भएका थिए । उक्त खेलमा जावलाखेलले थ्रीस्टारलाई ३-१ ले जित निकालेको थियो ।
त्यस्तै, २०६९ को ११औं संस्करणको सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक भिडेका थिए । उक्त खेल भने थ्रीस्टारले अघिल्लो संस्करणको हारको बदला लिँदै २-१ ले जावलाखेललाई रोक्न सफल भएको थियो ।
थ्रीस्टारको कप्तानी राष्ट्रिय टिमबाट खेलिसकेका योगेश गुरुङले सम्हाल्दैछन् । क्लबकै पूर्वकप्तान विक्रम लामाको प्रशिक्षणमा विराज महर्जन, आशिष चापागाईं, आदित्य शाक्य, दीपेश आले, अभिशेषक बराललगायत खेलाडी टिममा छन् ।
यता, जावलाखेल नरेश थापाको प्रशिक्षणमा मैदान उत्रिएको छ । जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । त्यस्तै, विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउलाले टिमविरुद्धको गोल रक्षा गरिरहेका छन् ।