काठमाडौं ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् ।
आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानूनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे । उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए ।
साथै उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दैै आएकोमा प्रशंसा व्यक्त गरे ।
उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।
यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भइ विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।













