पोखरा चालायमान गराउने मेला महोत्सव : २० लाख दर्शक, कारोबार कति ?

गोविन्द सुवेदी

पोखरा ।

पर्यटकीय सहरले परिचित पोखरामा विभिन्न प्रकृतिका मेला महोत्सव भइरहन्छन् । जसका कारण यहाँको पर्यटन र अर्थतन्त्र दुबै चलायमान हुन सहज भएको छ । मध्ये असारमा हुने रोपाइँ महोत्सव देखि मध्ये हिउँदमा हुने पोखरा सडक महोत्सवले पोखरा सबै सिजनमा पर्यटक र अर्थतन्त्र दुबै चलायमान गराउन सक्ने सहर हो भन्ने प्रमाणित गर्दछ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ पोखरामा विभिन्न मेला महोत्सवमा वार्षिक २० लाख मानिसले अवलोकन गर्ने अनुमान गर्छन् । प्रत्येक अवलोकनकर्ताले एक पटकमा कम्तिमा पनि एक हजार रुपैयाँ खर्च गर्दापनि २ अर्ब रुपैयाँ बराबरको अर्थतन्त्र चलायमान हुने उनको बुझाई छ ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी ठ्याक्कै यति कारोबार भयो भनेर अनुमान लगाउन नसकेपनि मेला महोत्सवले अर्थतन्त्र चलायमान गराएको  स्विकार गर्छन् । उनले मेला महोत्सव उद्देश्य केन्द्रित भन्दापनि आयोजक संस्थाहरुको दीगो आर्थिक स्रोतका रुपमा लिने गरिएको बताए ।

‘ठ्याक्कै २० लाख मानिसले अबलोकन गर्दा उनीहरुले यति नै खर्च गर्छन् भन्ने अनुमान फिक्का हुनसक्छ । मेला महोत्सव उद्देश्य केन्द्रित हुनुपर्ने हो । त्यो हुन सकेको छैन । आयोजक संस्थाले आफ्नो संस्थाको दीगो आर्थिक स्रोतको रुपमा मेला महोत्सवलाई उपयोग गर्न खोजेको देखिन्छ ।’ उनले भने, ‘यसो भन्दैगर्दा पोखरामा मेला महोत्सवले अर्थतन्त्र चलायमान गराएका छन् नै । तर, त्यसले यहाँको अर्थतन्त्रमा दीर्घकालिन रुपमा पनि कत्तिको प्रभाव पार्छ भनेर हेरिनु र विश्लेषण गरिनु पर्छ ।’

अर्थशास्त्रका प्रध्यापक डा. यादवशर्मा गौडेल मेला महोत्सवले स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने बताउँछन् ।उनले मेला महोत्सवमा पुग्ने दर्शकले उत्पादीत बस्तु सेवाको बारेमा जानकारी पाउनुका साथै खर्च गर्न प्रोत्साहित हुने विश्लेषण गरे ।

एकै ठाउँमा धेरै बस्तु र सेवाको बारेमा जानकारी दिइने हुँदा प्रतिस्पर्धात्मक बजार हुने र तुलनात्मक रुपमा बाहिर भन्दा मेला महोत्सवमा बस्तु र सेवाको मूल्य सस्तो पर्ने उनले जानकारी दिए ।

पोखरामा हुने सबै प्रकारका मेला महोत्सवले यहाँको अर्थतन्त्र चलायमान गराएको उनले प्रष्ट्याए । ‘पोखरामा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्र चलायमान गराएका छन् । त्यसमा पुग्नेले कति खर्च गर्छन् भन्ने कुरा उनीहरुको क्रय शक्तिले निर्धारण गर्छ । मेलामा पुग्ने सबैले खर्च नै गर्छन् भन्नेपनि छैन । मेला महोत्सवको अवसर हेरेर एउटै व्यक्तिले करोडको सामग्री खरिद गरेको पनि हुनसक्छ’ उनले भने ।

पोखरामा पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला, रेबान पोखराले सडक महोत्सव, लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सव, युनाइटेड क्लवले पोखरा महोत्सव र होटल संघ पोखराले फेवा नववर्ष महोत्सव हरेक वर्ष आयोजना हुने महोत्सव मध्यका ठूला मेला महोत्सव हुन् ।

पोखराको ढुंगेसाँघुमा हुने परम्परागत ढुंगेसाँघु मेला, लिट्रेचर फेस्टिभल र काउँ धरहरा महोत्सव, हेमजामा हुने आलु महोत्सव, लामाचौरमा हुने तीजे मेला लगायत विभिन्न प्रकृतिका मेला, महोत्सव र गोष्ठीजस्ता कार्यक्रम पोखरामा दर्जनौं हुनेगरेका छन् ।

आयोजकको दाबी अनुसार यस्तो छ पोखराका मुख्य ५ मेला महोत्सवमा उपस्थित हुने दर्शक र कारोबार

  • पोखरा उद्योगवाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यपार मेला : दर्शक संख्या ३ लाख, कारोबार १० करोड रुपैयाँ, संस्थालाई आम्दानी १ करोड रुपैयाँ, बचत १५ लाख रुपैयाँ ।
  • रेवान पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सव : दर्शक संख्या ५ लाख, कारोबार ५० करोड रुपैयाँ, आम्दानी ८५ लाख रुपैयाँ, बचत १२ लाख रुपैयाँ  ।
  • लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव : कारोबार १० करोड, दर्शक ३ लाख रुपैयाँ, आम्दानी ९० लाख रुपैयाँ, बचत १० लाख रुपैयाँ ।
  • युनाइटेड क्लव पोखराले आयोजना गर्ने पोखरा महोत्सव : कारोबार १२ करोड रुपैयाँ, आम्दानी १ करोड १७ लाख ५० हजार रुपैयाँ, बचत ३४ लाख ३५ हजार रुपैयाँ  ।
  • होटल संघ पोखराले गर्ने फेवा नववर्ष महोत्सव : दर्शक ३ लाख, कारोबार २५ करोड, आम्दानी ५० लाख र बचत २ लाख रुपैयाँ  ।

 

 

 

 

  • १६ माघ २०८०, मंगलवार १५:०० प्रकाशित