काठमाडौँ ।
एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ ।
समितिका सदस्य सुजन काफ्लेले प्रतिवेदन तयार भएको र आजै प्रधानमन्त्रीलाई बुझाउने बताएका छन् । उनले प्रधानमन्त्रीको उपत्यका बाहिर जानुपर्ने कार्यक्रम रहेको र सो कार्यक्रमबाट फर्केपछि आज साँझतिर प्रतिवेदन बुझाउने बताएका हुन् ।
सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने हो ।
तर, संयोजक टङ्कमणि शर्मा बेलायत पुगेपछि प्रतिवेदन सकिएन । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिनलाई समय थपेको थियो । सोहीअनुसार आज प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको हो ।