काठमाडौं ।
नेपालकै सस्तो र नमुना जलविद्युत आयोजनाका रुपमा चर्चा भैरहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएसँगै आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको हो । आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानुनी जटिलता आएको थियो । ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र पर्ने आयोजनाको काम गर्न सरकारले स्वीकृति प्रदान गरेको आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए ।
जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट आयोजनाले २०७६ सालमा ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागमा पेस गरेको चार वर्षपछि स्वीकृति पाएको छ ।
उत्तरगंगा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई सुरुङमार्ग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख छ ।
आयोजनाबाट हिउँदमा पनि आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले देखाएको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको उक्त आयोजना बाग्लुङको ढोरपाटन उपत्यकामा बनाइनेछ ।