पोखरा ।
यात्रुबहाक सवरीको भाडा समायोजन गर्न नसक्नु सरकारको कमजोरी रहेको गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बताएका छन् । समितिले गरेका कामको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
समितिको बैठकमा आउने क्रममा विरौटाबाट संसद भवन आउँदा ट्याक्सी मिटरमा नचलाएको र अरू बेला ४०० लिने गरेकोमा आज ५०० रूपैयाँ मागेको उनले उल्लेख गरे । उनले मिटरमा उठेको भाडा लिन व्यवसायी र लागु गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको प्रसंग कोट्याउँदै यस्तो उल्लेख गरेका हुन् ।
सभापति अर्यालले चडपर्व केन्द्रीत निर्देशन भने धेरै हदसम्म कार्वान्वयनमा गएको उनले जानकारी दिए । समिति गठन भएको धेरै समय नभएको र सरकारले कार्यान्वयन गरेनगरेको मुल्यांकन गर्नेबेला भइनसकेको टिप्पणी गरेका उनले समितिको तर्फबाट महत्वपूर्ण निर्णय भएर निर्देशन दिइएको जानकारी दिए ।
ट्याक्सी मिटरमा सञ्चालन गर्ने प्रयासको सिलसिला
२०७४ सालमा पुसमा पोखराका ट्याक्सी मिटरमा नचलेको भन्दै प्रशासनले धरपकड गरेपछि पृथ्वीचोकमा सयौं ट्याक्सी तेस्र्याएर व्यवसायीले चक्काजाम गरेका थिए । त्यतिबेला प्रहरीले बल प्रयोग गरेर ट्याक्सी नै उठाउँदै लान थाल्यो र मिटरमा बाहेक चल्न नदिने अडान लियो ।
नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था कार्यालयले केन्द्रमा सिफारिस गर्ने बताएपछि भाडा समायोजन नगरी चल्न नसक्ने अडान लिएका व्यवसायी ट्याक्सी मिटरमा चलाउन सहमत भए । तर, सहमति केही दिनमै तोडियो र त्यसपछि पनि निरन्तर मिटरमा ट्याक्सी गुडेनन् ।
२०७८ सालमा पोखराका ट्याक्सीलाई अनिवार्य मिटरमा चल्ने बनाउन भन्दै भाडा समायोजन गरेर सरकारले निर्णय नै गरेको थियो । मिटरमा गुड्ने पोखराका ट्याक्सीमा ट्याक्सीमा जीपीएस जडान गर्ने, छतमा पहेँलो पोत्ने, चालकले आकासे रङको सर्ट, कालो पाइन्ट र जुत्ता लगाउनुपर्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार आकासे रङको सर्ट, कालो पाइन्ट लगाएका चालकले पोखरामा केही समय मिटरमा पनि चलाए तर केही महिनामै फेरि कार्यान्वयन र अनुगमन दुवै हुन सकेन । अहिले पनि पोखरामा अधिकांश ट्याक्सी चालक ड्रेसमै भेटिन्छन् ।
गत १ भदौदेखि फेरि ट्याक्सीले मिटर अनुसार मात्र भाडा लिनुपर्ने नियम लागू भयो यो नियम लागु भएपछि केही ट्याक्सी कारबाहीमा पनि परे ।
कायम भाडादर अनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७.५० रुपैयाँ कायम गरिएको छ ।
समयअनुकुल भाडा समायोज नगरेसम्म मिटरमा यात्रु चढाउन कठिन : व्यवसायी
मिटर समायोजन भएपछि धेरैपटक पेट्रोलियम पदार्थको भाडा घटबढ भएको, मोविल र अन्य पार्टपुर्जाहरुको समेत मूल्य बढेको भन्दै ट्याक्सी व्यवसायीले मिटर समायोजन विना मिटरमा ट्याक्सी चलाउन नसक्ने बताइरहेका छन् ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल मिटरमा ट्याक्सी नचल्नुको दोश व्यवसायीलाई मात्र दिएर नहुने बताउँछन् । सरकारले स्वचालित रुपमा मिटर समायोजन गरिदिए आफूहरुलाई ट्याक्सी मिटरमा चलाउन समस्या नरहेको उनले बताए । ‘सरकारले बैज्ञानिकरुपमा मिटर समायोजन गरेर भाडा निर्धारण गरोस् । हामी यो भनिरहेका छौं । तर सकारले यसविषयमा चासो नराख्दा र ध्यान नदिँदा समस्या आएको हो’ उनले भने ।
अध्यक्ष पौडेलले मिटरमा नै यात्रा गर्छु भन्नेलाई बाहेक ट्याक्सी मिटरमा नचलेको उनले स्विकार गरे । ‘होइन म मिटरमै जान्छु भन्नेले मिटरमा उठेको रकम दिँदा चढ्न पाउनुभएको छ । तर, जसले मिटर भन्नुहुन्न उहाँहरु बार्गेनिङकै आधारमा ट्याक्सी भाडा तिर्ने गरेको सत्य हो,’ उनले भने ।