काठमाडौँ ।
नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ ।
‘नेपाली कांग्रेस स्थापनाको ७७ वर्ष बितेको छ । यो वर्ष हामी ७८ औँ स्थापना दिवस मनाउँदै छौँ,’ मुख्यसचिव पौडेलले भने, ‘यो पार्टीका लागि आफैँ ऐतिहासिक क्षण हो । त्यसकारण पनि दिवसलाई महत्वका साथ लिएर देशभरि विभिन्न कार्यक्रम हुँदै छन् ।’
नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्देश्यले खुलेको भएपनि पछि यसले बृहत् रूप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो ।
जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।