प्रभु साहको पार्टीले गरेको प्रदर्शनमा प्रहरीको धरपकड

केन्द्रभाग मिडिया

धनुषा ।

बिहीबार प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेस प्रदेश बन्दको प्रभाव आंशिक परेको छ । धनुषा, सर्लाही, रौतहट र पर्सालगायतका जिल्लामा बन्दको आंशिक प्रभाव परेको हो ।

पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो ।

बिहानैदेखि विभिन्न स्थानमा बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ताहरू सडकमा उत्रिएर नारा जुलुस गरेका छन् । उनीहरुको प्रर्दशनमा प्रहरीले धरपकड गरेको छ । बन्दका क्रममा उत्रिएका दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

आजपाका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा नेता कार्यकर्तामाथि धरपकड गरिएको बताए । उनले सयौँ नेता कार्यकर्ता पक्राउ परेको दाबी गर्दै उनीहरूको निःसर्त रिहाइको माग गरेका छन् ।

  • ११ माघ २०८०, बिहीबार १६:०६ प्रकाशित