काठमाडौँ ।
जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो ।
भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् ।
भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले दुई अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई रू दुई अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।