यू–१९ विश्वकप क्रिकेट : नेपाल आज पाकिस्तानसँग भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ । सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा भने नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा छन् ।

नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् । यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता रहेको छ ।

  • १० माघ २०८०, बुधबार ०९:१० प्रकाशित