कांग्रेस कास्कीको सम्मेलन

सभापति बरालद्धारा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस कास्कीले पार्टीका क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव गरेको छ । सभापति किशोरदत्त बरालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव गरेका हुन् ।

पार्टी निर्माणका लागि उनले १९ बुँदामा सुझाव सहितको प्रस्ताव पेस गरेका छन् । ‘हाम्रो अध्ययन र अनुभवले क्रियाशील सदस्यहरू काँग्रेसका लागि नभई आफ्ना लागि बनाएको देखाएको छ,झ उनले भने, ञयसमा नेताहरू मात्र दोषी हुनुहुन्न, हामी पनि दोषी छौँ । अब अनुशासन, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ सदस्यता वितरण गर्नुपर्छ । नयाँ सदस्यबाट मात्रै विभिन्न तहका समितिको निर्वाचन गर्नुपर्छ ।’

पार्टीभित्र एउटै पदमा धेरै पदाधिकारी रहने विधान संशोधन हुनुपर्ने उनको सुझाव छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदमा एक जना मात्रै हुनुपर्ने उनले सुझाए । यस्तै पार्टीमा उमेर नभई बिचारको बहस हुनुपर्ने, सबै तहका कार्यसमितिको आकार सानो बनाउन सुझाइएको छ ।

केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्न, ट्रेड युनियनको भूमिकालाई परिमार्जित गर्न, विद्यालय र विश्वविद्यालय राजनीतिमुक्त बनाउन, एक पद एक जिम्मेवारीलाई वैधानिक व्यवस्था गर्न, राष्ट्रिय क्षमा याचना अभियान चलाउन, अनुशासित र मर्यादित संगठन निर्माण, भ्रष्टाचार विरुद्धको अभियान चलाउन केन्द्रीय समितिलाई सुझाव पठाइएको छ ।

  • ९ माघ २०८०, मंगलवार १५:४३ प्रकाशित