म्याग्दी ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल)निर्माण गरिने भएको छ ।
गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएपछि दुई लेनको सुरूङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी–जोमसोम सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।
उनका अनुसार सुरुङमार्ग निर्माणका लागि ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झण्डै ९० करोडको लागत अनुमानसहित स्वीकृतिका लागि मन्त्रालयमा पत्र पठाइएको हो । कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको आयोजना प्रमुख झाले जानकारी दिए ।
नियमित यातायात सञ्चालनका लागि अहिले उक्त सडकखण्डको भिरकोटमा ढुङ्गा राखेर डाइभर्सन गरिएको छ । कालीगण्डकी नदी कटानका कारण सडकको बेससमेत नरहेपछि उक्त खण्डमा यातायात सञ्चालन गर्न समस्या हुँदै आएको छ ।
अत्यन्तै जोखिमपूर्ण मानिएको उक्तखण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाए ।
बेनी–जोमसोम–कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुग्नसक्ने भएकाले सुरुङबाहेका अन्य विकल्पबारे थप अध्ययन भइरहेको आयोजना प्रमुख झाले जानकारी दिए ।













