पोखरा ।
नेपाली कांग्रेस कास्कीको सम्मेलन भोलि मंगलबार हुने भएको छ । भोलि हुने जिल्ला सम्मेलन २०८० को सबै तयारी पूरा भएको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिएका छन् ।
कास्की कांग्रेसको पार्टी कार्यालय प्रांगणमा हुने सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रवक्ता लामिछानेले बताए ।
लामिछानेको अनुसार सम्मेलनका लागि सबै क्षेत्रीय प्रतिनिधिलाई परिचय पत्र प्रदान गरिएको र आन्तरिक सबै तयारी पूरा भएको छ । सम्मेलनलाई आन्तरिक एकता र मेलमिलापको बनाउने गरि छलफल र बहस तीव्र बनाइएको सचिव भानु ढकालले जानकारी दिए ।
सम्मेलनबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म एकताको सन्देश प्रवाह गर्न चाहेको उनले बताए । सम्मेलनका लागि पार्टीको तल्लो तहसम्म छलफल र प्रचार प्रसार गर्दै आवश्यक सल्लाह, सुझाव पनि ग्रहण गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।
सम्मेलन एउटा कार्यक्रममा मात्र सीमित नहुने भन्दै सभापति बरालले सबै नेता कार्यकर्ताको भावना अटाउने गरि पार्टीको आगामी कार्यदिशा तय गरिने बताए । सम्मेलनमा करिब १ हजार ३ सयको सहभागिता रहने आँकलन गरिएको छ ।
सम्मेलनमा सभापित देउवासँगै उपसभापतिद्वय पूर्वबहादुर खड्का र धनराज गुरुङ, पूर्व महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अर्जुन जोशी लगायत सहभागी हुँदैछन् ।