पाेखरा ।
आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू(१९ विश्वकपमा अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो पराजयसंगै नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ ।
३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेका थिए । तर, अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो ।
तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगेका थिए ।
तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।