काठमाडौँ ।
यू–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १ : ४५ बजे सुरु हुनेछ ।हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । न्युजिल्यान्डसँगै नेपालको समूहमा अफगानिस्तान र पाकिस्तान पनि परेका छन् । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको हो ।
समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन-तीन टोली एउटा समूहमा रहने छन् ।
यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीनतीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन ।
समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।