सुर्खेत ।
बहिनीमाथि आफ्नै बाबाले बलात्कार गरेको आरोपमा उजुरी दिदाँ दाजुको हत्या भएको छ । हत्या आरोपमा बुवा पक्राउ परेका छन् ।
पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका हुन् । उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन ।
मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।
हत्यापछि आरोपी कैलालीमा पुगेको सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी प्रमुखको टोली परिचालित भएको थियो ।
घटना भएको दिनदेखि नै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी साढुदाइको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।













