काठमाडौँ ।
चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका एक नेतालाई स्पष्टीकरण सोधिएको छ । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीसँग पार्टीले लिखित स्पष्टीकरण माग गरेको हो ।
केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० कुटपिट गरेको आरोप लागेको छ । यस सम्बन्धमा माओवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले उनलाई लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका नेताहरूका अनुसार आठबीसकोट नगरपालिका पूर्व मेयरसमेत रहेका केसीको समूहले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्ना बजारमा चिनियाँ महिलामाथि हातपात गरेको आरोप छ ।
यस सम्बन्धमा चिनियाँ सरकारी तहबाट माओवादीसम्म ध्यानाकर्षण गराइएपछि कारबाही प्रक्रिया अघि बढाइएको माओवादी स्रोतका भनाइ छ ।













