पोखरा ।
बाह्रौँ पोखरा महोत्सव आज छैठौ दिन पनि जारी छ । महोत्सवमा दिनदिनै दर्शकको भिड बढिरहेको आयोजकले जनाएको छ ।
अमरसिंह मैदानमा जारी महोत्सवमा दर्शकको भीडसंगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा आज मंगलबार रचना रिमाल, पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुती रहने छ भने साँझको लाइभ ब्याण्डमा श्री ३ को प्रस्तुती रहने प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।
महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
महोत्सवमा सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । युवा पुस्तालाई सिम्रन परियार र बृद्धवृद्धाहरुलाई राजु परियारको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।
राजु र सिम्रन संगै प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगाएतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभब्याण्ड तर्फ लाहुेर एण्ड द ब्याड कम्पनीको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।