पोखरा ।
पोखरामा विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरको विमान सेतिको खोँचमा खस्दाँ गतवर्ष आजकै दिन ७२ यात्रुले ज्यान गुमाएका थिए ।
आज बिहानै देखि दुर्घटनामा ज्यान गुमाएकाको आफन्तजन दुर्घटनास्थलमा पुगी उनीहरुको सम्झनामा आफ्नो आफ्नो रिति अनुसार पुजा आराधना गरेका छन् । मृतकहरुको आत्मको शान्तिको लागि दुर्घटनास्थलमा दियो बाली पुजा आराधना गरेका छन् ।
यस्तै दुर्घटनास्थलमा बिहान पोखरा महानगरपालिकाले स्मृति सभा सम्पन्न गरेको छ । महानगरपालिकाले दुर्घटनास्थलमा ज्यान गुमाएका यात्रुको नाम खोपिएको स्मृति स्तम्भको आजै उद्घाटन गर्दै मृतकको सम्झनामा स्मृति सभा सम्पन्न गरेको हो ।दुर्घटनास्थल वरिपरि महानगरले तारबार गर्ने भएको छ ।
विमानदुर्घटना स्थलमा पोखरा महानगरपालिका वडा नम्बर १५ ले साँझ दिपप्रज्वलन गर्ने भएको छ ।
यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खसेको थियो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए ।
दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक भनेको छ। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।
आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ ।