पोखरा ।
चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को आजबाट सुरु हुदैँछ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताएका छन् ।
खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता ६ गते सकिने आयोजकले बताएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी भिड्ने भएका छन् । देशकै ठूलो धनराशी पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल दिउसो साढे साढे १ बजे सुरु हुनेछ ।
प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित रहेको अध्यक्ष शर्माले बताए ।अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्र्ेनिङ सेन्टरमा करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुने आयोजकले जनाएको छ ।
महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक पोखरा आएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत तीन जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ संगै तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
खेल तालिका अनुसार लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन माघ १ गते देखि ३ गते सम्म हरेक दिन महिलातर्फ दुई र पुरुषतर्फ गरी चार खेल हुनेछन् ।
महिलातर्फ पहिलो दिन माघ १ गते विभागिय टोली एपिएफ क्लवले नेपाल पुलिस क्लवको सामना गर्ने छ भने दोश्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवका विच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्हमा दुई विभागिय टोली एपिएफ क्लव र नेपाल पुलिस क्लवका विच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुने छ ।
त्यसै गरी माघ २ गते महिलातर्फ महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लव र हरियाणा टिम भारतका विच हुनेछ । त्यस्तै पुरुषतर्फको पहिलो लिग खेल श्रीलंका आर्मी टिम र एपिएफ क्लव तथा दोश्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवका विच हुने भएको छ ।
माघ ३ गते महिलातर्फ एपिएफ क्लव र गण्डकी प्रदेशका विच हुने छ भने दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवले हरियाणा पुलिस क्लवको सामना गर्नेछ । यता पुरुषतर्फ सोही दिन लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लव र श्रीलंका आर्मी टिमका विच तथा दोश्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश आमने सामने हुनेछन् ।
खेल तालिका अनुसार माघ ४ गते महिला र पुरुष दुबैतर्फ समीफाइनलका खेलहरु सञ्चालन हुनेछन् भने माघ ५ गते तेश्रो र चौथो हुने टिमको टुङ्गो लाग्नेछ । माघ ६ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद २५–२५ हजार ट्रफीका साथमा प्रदान गरिने छ भने अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई एक्सटेपको १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
चौथो टाइगर कप सफलता पूर्वक सम्पन्न हुनेमा अध्यक्ष शर्माले विश्वास व्यक्त गर्दै सहयोगका लागि सबैसंग आग्रह गरेका छन् ।प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोवाइल प्रदान गरिने सचिव नेपालीले जानकारी दिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने आयोजकले जनाएको छ ।













