नेपाल निर्माण व्यवसायी संघ कास्कीको रक्तदानमा ४२ पिन्ट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवस आइतवार रक्तदान कार्यक्रम गरी मनाइएको छ । संघले बाषिर्कोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ ।

कार्यक्रममा ४२ युनिट रगत सङ्कलन भएको संघका सदस्य ई दिपक सुवेदीले जानकारी दिए । संघका सदस्य तथा व्यवसायी मित्रमणी तिमिल्सीनाले ज्येष्ठ रक्तदाताका रुपमा रक्तदान गरि रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

संघको ३७ औँ वार्षिक उत्सव मनाइरहदाँ मानवताका नाताले बजारमा देखिएको रगतको कमी पुरा गर्न आफूहरुले रक्तदान कार्यक्रम गरेको प्रमुख अथिति तथा नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले बताए । त्यस्तै नेपाल निर्माण व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष टंकराज बरालले संघ सदैव समाज सेवामा रहेको बताउँदै स्थापना दिवसको अवसरमा रक्तदान गरेर जीवन बचाउँने जस्तो कार्य गर्न पाउँदा सन्तुष्टि समेत मिलेको बताए ।

कार्यक्रममा विशेष अतिथी शिवशंकर गौचन, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ संघका सल्लाहाकार एवं महासंघ पूर्व उपाध्यक्ष राजेन्द्र पहारी, सल्लाहकार मुक्ति प्रसाद तिमिल्सिना, सल्लाहाकार चिरञ्जिवी पोखरेल, बासुदेव गौचन लगायतले मन्तव्य राखेका थिए ।

रक्तदान गरेका रक्तदाहरुलाई प्रशंसा पत्र संघका संस्थापक तथा सल्लाहाकारबाट बितरण गरिएको थियो । ५१ औं पटक रक्तदान गर्ने निर्माण व्यवसायी झपिन्द्रराज रेग्मीलाई प्रमुख अतिथीबाट खादा माला लगाई सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा संघले पोखरा–७ टुरिष्टबसपार्कमा वृहत सरसफाई कार्यक्रम समेत गरेको थियो । संघले गत वर्षदेखि नै पोखरा–७ टुरिष्टबसपार्कमा रहेको आफ्नो कार्यलयको शौचालय सर्वसाधारणका लागि खुला गरेको छ ।

पोखरा महानगरले ल्याएको अवधारणामा सहयोग गर्ने उद्धेश्यका साथ संघले शौचालय सर्वसाधारणका लागि खुला गरेको जनाएको छ । आफ्नो कार्यलय टुरिष्ट बसपार्क नजिकै भएको कारण मानिसहरुलाई शौचका लागि समस्या नजिकबाट नियालेको भन्दै सोही समस्या आउन नदिनका लागि पनि शौचालय प्रयोगमा ल्याइएको अध्यक्ष गुरुङले बताए ।

स्थापना दिवसका अवसरमा संघले वर्षेनी सेवामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

  • २९ पुष २०८०, आईतवार १६:२५ प्रकाशित