राष्ट्रियसभा निर्वाचन

गण्डकीका उम्मेदवारलाई जिताउन समिति गठन, ११ वटै जिल्लाका मतदातासँग भेटघाट गर्ने

उम्मेदवार भन्छन् : देश र जनताका लागि काम गर्छौ

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गण्डकीमा समिति गठन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि सत्ता पक्षीय गठबन्धनले समिति गठन गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशबाट माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन भएका उम्मेद्धवारको परिचयसमेत गराइएको छ ।

राष्ट्रिय सभा निर्वाचनको प्रचार(प्रसार कार्यलाई अझ प्रभावकारी बनाउन समिति तथा उपसमिती गठन गरिएको बताइएको छ ।नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज राज शर्माको संयोजकत्वमा निर्वाचन मूल समिति गठन भएको बताइयो। जसको सदस्यहरुमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष किरण थापा रहेका छन् ।

यस्तै नेपाली काँग्रेस, संसदीय दल एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद हरि बहादुर चुमान र पोखरा महानगरपालिकाका प्रमख धनराज आचार्य पनि प्रचार प्रसार समितिमा रहेका छन

राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापन उपसमितिमा नेपाली काँग्रेसका विष्णुप्रसाद लामिछाने,नेकपा माओवादी केन्द्रका गुणाखर बस्याल, नेकपा माओवादी केन्द्रका ज्ञमनाथ गैहे, नेकपा माओवादी केन्द्रका, जगन्नाथ खनाल, नेकपा एकीकृत समाजवादीका कृष्ण बहादुर नेपाली, राष्ट्रिय जनमोर्चा नेपालका विमोहन ढकाल , नेपाल समाजवादी पार्टीका चित्र सापकोटा,नेपाली कांग्रेसका माधव प्रसाद बाँस्तोला रहेका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट रहेका उम्मेद्धवार किरणवावु श्रेष्ठ, मनरुपा शर्मा र पदम बहादुर परियारले देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाए।

चुनाव प्रचारप्रसार समितिले उम्मेदवारले मतदाताहरुसँग गर्ने भेटघाटको समय र स्थान निर्धारण गरिएको छ ।

जसअनुसार पहिलो दिन माघ २ गते बिहान ११ बजे नवलपुरमा, माघ ३ गते बिहान ८ बजे गोरखामा, सोही दिन दिउँसो २ बजे लमजुङका मतदातासँग भेटघाट गर्ने समयतालिका रहेको समितिले बताएको छ ।

माघ ४ गते बिहान ११ बजे तनहूँमा, माघ ५ गते बिहान ११ बजे स्याङ्जामा, माघ ६ गते बिहान म्याग्दीमा , माघ ६ गते दिउँसो २ बजे बागलुङमा, माघ ७ गते बिहान ८ बजे पर्वतमा, सोही दिन दिउँसो २ बजे कास्कीको पोखरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै माघ ८ गते मनाङ र ९ गते मुस्ताङमा भेटघाट हुने जनाएको छ ।

  • २९ पुष २०८०, आईतवार १६:१० प्रकाशित